काठमाण्डु, ६ मंसिर– सहकारी ठगीको कसुरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडिआईजी एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशी बन्जाडेलाई काठमाण्डुबाट फेरि पोखरा लगिने भएको छ ।
कास्की प्रहरीको हिरासतमा रहेका जोशीलाई स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका सर्वसाधारण बचतकर्ताको रकम अपचनल कसुरमा बयानका लागि पोखराबाट केही दिनअघि काठमाण्डु ल्याइएको थियो ।
बिहीबार उनको बयान सकिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए ।
‘अहिलेलाई उहाँको बयान सकिएको छ’, उनले भने, ‘शुक्रबार पोखरा पठाइन्छ, आवश्यक परे फेरि उपस्थित गराउन पनि सकिन्छ ।’
बयानका क्रममा जोशीले सरकारीको रकम गोर्खा मिडियामा ल्याउन आफ्नो भूमिका नरहेको बयान दिएका छन् ।
काठमाण्डु जिल्ला अदालतले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलनमा अनुसन्धान गर्न जोशीविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उनलाई सोही दिन पोखराबाट जहाजमार्फत काठमाण्डु ल्याइएको थियो ।
पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा उनलाई प्रहरीले गत ६ असोजमा काठमाण्डुको शंखमुलस्थित निवासबाट पक्राउ गरेको थियो ।
जोशीलाई पोखरा लगे लगत्तै कास्की प्रहरीकै हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई काठमाण्डु ल्याउने तयारी छ ।
काठमाण्डु जिल्ला अदालतले मंगलबार लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा संलग्न रहेको कसुरमा अनुसन्धान गर्न पक्राउ अनुमति दिएको थियो ।
गोर्खा मिडियाका अध्यक्ष जिबी राई नै अध्यक्ष रहेको उक्त सहकारीबाट २ अर्ब ७४ करोड रुपैयाँ अपचलन भएको उजुरी बचतकर्ताले गरेका छन् ।