काठमाण्डु, ६ मंसिर– काँग्रेस महामन्त्री गगनकुमार थापाले वर्तमान सरकार गठनपछि मुलुकको अवस्था सहज होला भन्ने आफूहरुको अनुमानअनुसारको परिणाम नआएको स्वीकार गरेका छन् ।
डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) ले बिहीबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै थापाले सरकारले सोचे जस्तो काम गर्न नसकेको स्वीकार गरे । तर, जनतामा गरेको प्रतिबद्धता र काँग्रेस र एमालेबीचको सहमतिका आधारमा वर्तमान गठबन्धनलाई संसदको बाँकी कार्यभार भर टिकाएर लैजाने बताए ।
थापाले नागरिकहरुमा आक्रोश र निराशा चरम रुपमा व्याप्त रहेको स्वीकार गरे । काँग्रेस वर्तमान समस्याबाट भाग्न नसक्ने भन्दै यसलाई सम्हाल्ने आफूहरुको जिम्मेवारी रहेको उनको भनाइ थियो ।
‘नयाँ सरकार बनिसकेपछि अलिकति सहज होला भन्ने हामीलाई लागेको थियो । तर, हामीले सोेचेको जस्तो सहज भइरहेको छैन । नागरिकहरुमा आक्रोश असाध्यै धेरै बढेको छ । निराशा व्याप्त छ र यसको व्यापार गर्ने थुप्रै पसलहरु खुलेका छन् । नयाँनयाँ दोकान्दारहरु आएका छन् । जसको धन्दा नै यसको व्यापार गर्ने र यसलाई घटाउने भन्ने होइन, यसलाई बढाउने हो’, थापाले भने, ‘यो बीचमा हामीले काम गर्नुपरेको छ । नेपाली काँग्रेस पार्टीसँग गनगन गर्ने सुविधा छैन । यसबाट भाग्ने र बरालिने सुविधा पनि छैन । पार्टी सरकारमा हुन नहुने कुरा पनि टेक्निकल कुरा हो । हाम्रो जिम्मेवारी छ, धर्म छ । हाम्रो काम सम्हाल्ने हो । सम्हाल्ने कुरा सबैभन्दा गाह्रो हुन्छ । सम्हाल्दै गर्दा हामीलाई घाउ लागेको छ धेरैपटक ।’
काँग्रेस र एमाले प्रतिस्पर्धी भए पनि परिस्थितिले सरकारमा सँगै बस्नुपर्ने अवस्थामा ल्याएको थापाले जिकिर गरे । वर्तमानमा गर्ने कामबारे भन्दा पनि ०८४ मा हुने अर्को निर्वाचनको बहस बढी भएको भन्दै उनले असन्तुष्टि जनाए ।
‘०८४ सम्म हेरौंला भन्न सक्ने सुविधा हामीसँग थिएन, अहिले पनि छैन’, थापाले भने, ‘एउटा निर्वाचन सकिएलगत्तै अर्को निर्वाचनको चर्चा गर्न थाल्ने हो भने वर्तमानको जिम्मा कसले लिने हो ?’
थापाले काँग्रेस–एमाले सरकार जनतामा चुलिएको आक्रोशलाई घटाउन र निराशा चिर्न काम गरिरहेको दाबी गरे ।
‘हामी आक्रोशलाई घटाउन चाहन्छौं । निराशालाई चिर्न चाहन्छौं । हामीलाई के थाहा छ भने ‘बिजनेश याज युजल’ बाट यो कुरा सम्भव छैन । सरकार चलाउनका लागि चलाउने कुराबाट मात्र यो सम्भव छैन’, उनले भने, ‘कन्भेन्सनल तरिकाबाट मात्र पनि सम्भव छैन । सुविधाको बक्सभित्र बसेर मात्र पनि सम्भव छैन । त्यसैले अलि फरक ढंगले सोच्नुपर्छ भन्नेमा हामी सचेत छौं ।’
सविधान सशोधन लगायत केही काम गनुपर्ने र आर्थिक विकासका लागि केही जोमिख मोल्नुपर्ने अवस्थामा आफूहरु रहेको उनले बताए ।
फरक दल भएकाले सरकार नेतृत्वकर्ता एमालेसँग कतिपय विषयमा मतान्तर रहेको स्वीकार गर्दै उनले जनतासँग गरेका बाचा र दलहरुबीच गरिएका सहमतिका आधारमा अघि बढ्न चाहेको उल्लेख गरे ।
‘फरक दल भएकाले कतिपय कुरमा एक मत हुन सकिँदैन । कतिपय कुराहरुमा हमीले छलफलबाट साझा धारणा बनाउनुपर्नेछ’, थापाले भने ।
प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका विषयमा दुई दलबीच फरक धारणा रहेको भए पनि गठबन्धन नै संकटमा पर्ने र सरकार ढल्ने अवस्था नरहेको उनको भनाइ थियो ।