आफैंसँग असन्तुष्ट छन् प्रधानमन्त्री ओली !

काठमाण्डु टुडे २०८१ मंसिर ६ गते १९:३७ मा प्रकाशित

काठमाण्डु, ६ मंसिर– प्रधानमन्त्री केपी ओलीले आफू मातहतको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र त्यसअन्तर्गतका निकायको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्रीले ती कार्यालयको नतिजा निराशाजनक रहेको भन्दै असन्तुष्टि जनाए । मन्त्रिपरिषद् कार्यालय र मातहत निकायको चालु आर्थिक वर्षको पहिलो चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठकमा उनले कामका लागि भन्दै कर्मचारीले धेरै समय बैठकका नाममा बर्बाद गर्दा पनि काम नहुनु गम्भीर रहेको उनको भनाइ थियो ।

ओलीले मन्त्रिपरिषद कार्यालयको रिपोर्ट कार्डप्रति तीव्र असन्तुष्टि जनाउँदै कार्यशैली र मानसिकता परिवर्तन गरी नतिजा आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए । कार्यालयले राखेका कुनै पनि लक्ष्य हासिल नभएकाले अब यसरी नहुने भन्दै ओली रिसाए ।

‘अहिलेसम्मको कामबाट सन्तुष्ट हुने ठाउँ देखिएन । अब अर्को बैठकमा आउँदा यो–यो विषयमा काम भयो भनेर रिपोर्ड कार्ड लिएर आउनुस्’, उनले भने ।

कमजोर सरकार भएकाले विकास निर्माणका काम अघि नबढेको, अर्थतन्त्रको संकट गहिरिँदै गएको तथा अस्थिरताका कारण जनतामा आशा जाग्न नसकेको भन्दै गत १७ असारका संसदका प्रमुख दुई दल काँग्रेस र एमालेबीच ओलीको नेतृत्वमा सरकार गठन गर्ने गरी सत्ता गठबन्धन बनेको थियो ।

काँग्रेसको समर्थनमा ओली असार अन्तिममा प्रधानमन्त्री नियुक्त भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us