सरकार छाडेपछि हाम्रो पक्षमा जनलहर देखियोः प्रचण्ड

काठमाण्डु टुडे २०८१ मंसिर ६ गते १९:०९ मा प्रकाशित

काठमाण्डु, ६ मंसिर– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रसहितका उपलब्धिको रक्षाका लागि गणतन्त्र पक्षधर सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

माओवादी केन्द्र गोरखाले बिहीबार जिल्ला पार्टी कार्यालय पाटेचौरमा आयोजना गरेको पार्टीका अगुवा नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले जनताको बलिदानीबाट प्राप्त गणतन्त्रको संरक्षण र सम्बद्र्धनमा जुट्न सबैसँग अनुरोध गरे ।

पछिल्लो समय गणतन्त्रलाई कमजोर पार्ने षड्यन्त्र भइरहेकाले त्यसतर्फ सचेत रहन समग्र पार्टी पंक्तिको ध्यानाकर्षण गर्दै उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक प्रतिनिधित्वसहितको समावेशी शासन व्यवस्थालाई कमजोर पार्ने, उल्ट्याउने कोशिस भइरहेको छ । त्यसतर्फ सचेत र सजग हुन सबैसँग अनुरोध गर्दछु ।’

पहिलो संविधानसभाको निर्वाचनमार्फत जनताले दिएको विश्वास र भरोसाको रक्षा गर्न माओवादीले नसकेको स्वीकार गर्दै प्रचण्डले राजनीतिक इतिहासको सुक्ष्म ढङगबाट समीक्षा गरी आमजनताको विश्वास जित्नेगरी काम गर्न पार्टी पङ्तिको ध्यानाकर्षण गरेका थिए ।

सरकारबाट बाहिरिएपछि माओवादीको पक्षमा जनलहर देखिएको उल्लेख गर्दै उनले मुलुकका सम्पूर्ण शोषित पीडित वर्ग समुदायसहित माओवादी विचारमा विश्वास गर्ने सबैलाई एकताबद्ध गरी पार्टीलाई २०६४ सालकै अवस्थामा पुर्याउने अठोटका साथ अघि बढेको पार्टी नेतृत्वलाई सफल बनाउन सबै नेता तथा कार्यकर्ता अझ सक्रिय हुनुपर्ने समय आएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us