काठमाण्डु, २ मंसिर- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी १६ मंसिरमा हुने उपनिर्वाचनका लागि हुम्लाको सर्केगाड गाउँपालिकाकी उपाध्यक्ष पदमा उम्मेदवारी दिन तयार भएकी सुजता थापालाई उम्मेदवारी दर्ता नगराउन दबाब दिएको विषयमा निर्वाचन आयोगको ध्यानाकर्ण गराएको छ ।
उम्मेदवारी मनोनयनका लागि आवश्यक तयारी भइरहेको बेला शनिबार थापा र उनका श्रीमान बल थापालाई करिब ४०/४५ जनाको समूहले घरबाट लछारपछार गर्दै अपहरण शैलीमा अज्ञात स्थलतर्फ लिएर गएको कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले आयोगमा बुझाएको पत्रमा उल्लेख छ ।
उक्त घटनापछि गाउँमा खैलाबैला भएको र हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई जानकारी गराउॅदा आवश्यक खोजतलास उद्धारका लागि प्रहरी परिचालन गरिसकेको बताएको पत्रमा छ ।
रास्वपाका उम्मेवार र उनको परिवारलाई त्यसरी अपहरण शैलीका अज्ञात स्थलमा लछारपछार गरी लगी उम्मेदवारी नदिन धम्क्याउँदै मानसिक दबाब दिने र उम्मेदवारी दिएमा जे पनि हुन सक्नेसम्मको यातना दिइएको पाइएको रास्वपाले जनाएको छ ।
त्यसपछि सुजाता थापा र उनको परिवार मानसिक तनावमा देखिएको र हाल असुरक्षाका कारण उम्मेदवारी दिन नसकिने मनस्थितिमा पुगेको पत्रमा छ ।
स्थानीय स्रोतको हबाला दिंदै उक्त निन्दनीय कार्यमा स्थानीय नेपाली काँग्रेसका सदस्यहरु संलग्न रहेको सूचना प्राप्त भएको आरोप रास्वपाले लगाएको छ ।
त्यसैगरी हुम्ला सर्केगाडमा उम्मेदवार तय गर्न र प्रचारप्रसारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टीका केही सदस्यहरुलाई समेत दुर्व्यवहारका साथै लछारपछार र कुटपिट समेत भएको विवरण प्राप्त भएको उल्लेख छ ।
मधेश प्रदेशमा पनि रास्वपाका सम्भावित उम्मेदवारहरुलाई धम्कीदिने र प्रलोभनमा पार्ने सम्मका प्रयत्नहरु भएको आरोप रास्वपाको छ ।
उम्मेदवार दिन तयार व्यक्ति र निजको परिवारलाई धाकधम्की दिने, मानसिक यातना दिने, प्रलोभन देखाउने र उम्मेदवारी नै दिन नदिने यसप्रकारका चरम अलोकतान्त्रिक व्यवहारको रास्वपाले घोर निन्दा गरेको छ ।
यस घटनामा स्थानीय प्रशासन र सुरक्षा निकायका तर्फबाट सम्भव हुने आवश्यक अनुसन्धान र सहयोग समेत समयमै प्राप्त हुन नसकेको गुनासो रास्वपाले गरेको छ ।
लोकतन्त्रको महत्वपूर्ण पक्ष स्थानीय तह उपनिर्वाचनमा पहिलोपटक सहभागी हुन लागेको संसदको चौथो ठूलो राजनीतिक दलप्रति भएको निकृष्ठ अलोकतान्त्रिक क्रियाकलापप्रति आयोगको गम्भीर ध्यानाकर्षण गराइएको छ ।
यस घटनाले आफूहरुलाई दुःखी बनाएको र निर्वाचन प्रक्रियाप्रति नै आम जनमानसमा अविश्वास र त्रास समेत सिर्जना गरेको रास्वपाले जनाएको छ ।
रास्वपाले उल्लिखित घटनाक्रमलाई ध्यान दिई आसन्न उपनिर्वाचनलाई स्वच्छ, स्वस्थ र धाँधलीमुक्त वातावरणमा सम्पन्न गर्न अबिम्ब आवश्यक कदम चाल्नुका साथै घटनामा संलग्न दोषीहरुलाई कानुन बमोजिम कारवाही गर्न माग गरेको छ ।