काठमाण्डु,२ मंसिर– गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसाद नेतृत्वको टोलीबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारत सीमा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सौहार्दपूर्ण वातावरण गरिरहेको कार्यका विषयमा कुराकानी भएको गृहमन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ ।
भेटवार्ताका क्रममा गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने लागुऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रण, मानव बेचबिखन नियन्त्रणका साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणमा सहकार्य गर्न जोड दिए ।
गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र एसएसपीका महानिर्देशक अमृतमोहन प्रसाद सहभागी उक्त भेटवार्तामा नेपाल–भारत सीमा क्षेत्रमा आम नागरिकलाई कष्ट नहुने गरी सौहार्दपूर्ण वातावरणमा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा ध्यान दिनुपर्नेमा गृहमन्त्री लेखकको जोड थियो ।
नेपाल–भारत सीमा नाकामा ओहोरदोहोर गर्ने नागरिकहरूलाई मर्यादित व्यवहार गर्न मन्त्री लेखकले आग्रह समेत गरेको स्रोतले जानकारी दिएको छ ।