कैलाली, २ मंसिर– प्रमुख दुई सत्ता घटक काँग्रेस र एमालेले कैलालीको स्थानीय तह निर्वाचनमा तालमेल गरेका छन् ।
जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेकपा एमालेले काँग्रेसलाई समर्थन गर्ने भएको छ ।
एमालेले उम्मेदवार नउठाउने र काँग्रेसका उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएको एमाले कैलाली इन्चार्ज नारदमुनि रानाले जानकारी दिए ।
१६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा तालमेल गर्नेबारे कांग्रेस कैलाली सभापति नारायणदत्त भट्ट, एमाले कैलालीका इन्चार्ज रानाबीच सहमति भएको हो ।
कांग्रेसले जिल्ला समन्वय समिति प्रमुखमा टीकाकुमारी चौधरी (भुल) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनको प्रस्तावकमा धनगढी उपमहानगर उपप्रमुख एमाले स्थानीय नेतृ कन्दकला राना प्रस्तावक छिन् ।
समन्वय प्रमुख पदम कलेलको निधन भएपछि उक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।