आफ्ना उम्मेदवारलाई बन्धक बनाइएको रास्वपाको आरोप

काठमाण्डु टुडे २०८१ मंसिर २ गते १०:११ मा प्रकाशित

काठमाण्डु, २ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काँग्रेस र एमालेले आफ्नो पार्टीका उम्मेदवार अपहरण गरेको आरोप लगाएको छ ।

कार्यबाहक प्रवक्ता मनिष झाले हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष उम्मेदवार सुजाता फडेरा थापालाई अपहरण गरिएको आरोप लगाए ।
उनका अनुसार थापालाई बन्धक बनाएर मनोनयन दर्ता नगर्न सहमत गराइएको छ । ‘राज्य शक्तिको दुरुपयोग गरेर हाम्रो उम्मेदवारलाई बन्धक बनाएर उम्मेदवारी दर्ता नगर्न सहमत गराइएको छ’, उनले भने, ‘यो त अति नै भयो ।’

उनले राज्य सत्ताको आडमा देशभर आफ्ना पार्टीका कार्यकर्ता र शुभेच्छुकलाई डर, त्रास र धम्की दिन थालिएको आरोप लगाए । धम्कीका कारण थापाले अन्तिम समयमा आएर उम्मेदवारी दिन नसक्ने जानकारी पार्टीलाई गराएको झाले बताए ।

झाका अनुसार रास्वपाले उम्मेदवार बनाउन तयार पारिएकी थापाका परिवार अरु पार्टीमा सक्रिय छन् ।ज्यान मार्नेसम्मको धम्की दिएपछि थापा उम्मेदवारी दिने निर्यायबाट बाध्य भएर पछि हटेको जानकारी आएको दाबी झाले गरे ।

यद्यपि स्थानीय प्रशासनले भने रास्वपाको आरोप अस्वीकार गरेको छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले अपहरण र बन्धक नबनाइएको बताए । सम्बन्धित उम्मेदवारसँगै आफ्नो कुराकानी हुँदा उनले बन्धक बनाएको अस्वीकार गरेको पाण्डेयको भनाइ छ ।

‘मैले उम्मेदवार भनेर चर्चा गरिएकी सुजाता फडेरा थापासँगै कुरा गरें’, पाण्डेयले भने, ‘उहाँले आफूले उम्मेदवारी दिने तयारी नै नगरेको बताउनुभयो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us