प्रतिकूल मौसमका कारण हवाई सेवा प्रभावित

काठमाण्डु टुडे २०८१ कार्तिक १९ गते १३:०९ मा प्रकाशित

काठमाण्डु, १९ कात्तिक–प्रतिकूल मौसमका कारण देशभर हवाई उडान सामान्य प्रभावित भएको छ ।
मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाण्डुबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन ।

‘मौसममा आएको खराबीका कारण दुर्गम क्षेत्रको उडान प्रभावित भएको छ । सुगम क्षेत्रका विमानस्थलको उडान नियमित रूपमा सञ्चालन भइरहेको छ,’ उनले भने ।
काठमाण्डु विमानस्थलमा आन्तरिकतर्फ इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्र भइरहेको छ ।

मौसमका कारण भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान हुनसकेको छैन ।
उडान प्रभावित हुँदा गन्तव्यमा हिँडेका उल्लेख्य सङ्ख्यामा पर्यटक अलपत्र परेका विमानस्थल कार्यालयले जनाएको छ ।

काठमाण्डुबाट तराई क्षेत्रका विमानस्थलमा उडान नियमित भइरहे पनि दुर्गम क्षेत्रका अधिकांश उडान हुन सकेको छैन ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान समान्य रूपमा सञ्चालन भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us