तिहार सकिएलगत्तै राजधानीमा छठको तयारी

काठमाण्डु टुडे २०८१ कार्तिक १९ गते ९:५२ मा प्रकाशित

काठमाण्डु, १९ कात्तिक- नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै राजधानीलगायत तराईका जिल्लामा छठको तयारी सुरु भएको छ ।

पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको वाग्मती किनारमा आकर्षक रूपमा छठघाट निर्माणको काम थालिएको छ । गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रूपमा सजाएर छठघाट अर्थात् पूजा स्थल निर्माण भइरहेको छ ।

यस क्षेत्रमा ६७५ वटा पूजास्थल निर्माण सुरु गरिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिले जनाएको छ ।

तयारीका लागि यस क्षेत्रमा सफाइ, माटो सम्याउनेलगायत काम पनि भइरहेको छ ।

समितिले एउटा छठघाट पूजाका लागि एक हजार एक सय शुल्क लिने गरेको छ । छठका लागि आवश्यक तयारीको खर्च जुटाउन शुल्क लिने गरिएको हो ।

विगत वर्षमा पशुपति क्षेत्र विकास कोषले पनि गुह्येश्वरी गौरीघाट छठ पूजा समितिलाई ६ लाख सहयोग गर्ने गरेको थियो । यस वर्ष पनि सहयोग गर्ने वाचा गरेको समितिले जनाएको छ ।

यसैगरी कमलपोखरी, नागपोखरीलगायत स्थानमा पनि छठ मनाउन छठघाट निर्माण भइरहेको छ ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइन्छ। छठको विधि भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरु हुने बताइन्छ ।

छठ व्रत बसेर छठघाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिनेले कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्य परिकार नखाई शुद्ध बस्ने व्रत विधि छ ।

कार्तिक शुक्ल पञ्चमीका दिन बर्तालुले सखर, घिउलगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन् ।

यसलाई पनि छठको एउटा विधिका रूपमा लिइन्छ । बर्तालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।

यस वर्ष यही कात्तिक २२ गते बिहीबार यस पर्वको मुख्य दिन परेको छ । भोलिपल्ट अर्थात् कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ ।

कृषि प्रधान देशमा यो पर्व कृषि सामग्रीसँग पनि जोडिएको छ । अन्न बाली उत्पादन भएर किसानको घरमा भित्रिने यो समय देवतालाई ती अन्न चढाउने अवसरका रूपमा समेत उपयोग गरिँदै आएको छ ।

पछिल्लो समय काठमाण्डुलगायत पहाडी जिल्लामासमेत धुमधामका साथ छठ पर्व मनाउन थालिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us