मीनबहादुरसँग जग्गा दान लिएको विषयमा ओलीको टिप्पणीः त्यो खासै प्वाइन्ट होइन

काठमाण्डु टुडे २०८१ कार्तिक १७ गते २०:१८ मा प्रकाशित

काठमाण्डु, १७ कात्तिक– प्रधानमन्त्री केपी ओलीले भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङसँग पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा आलोचना गर्नेहरुलाई जवाफ दिएका छन् ।

सिस्नुपानी नेपालको देउसी भैलो कार्यक्रममा सहभागी ओलीले सहभागीहरुका तर्फबाट संक्षिप्त मन्तव्य दिँदै जग्गा दान लिनु स्वभाविक भएको तर्क गरे ।

कसैसँग दान नलिई पार्टी कार्यालय बनाएका र अरुसँग पैसा नलिई चुनाल लडेका कुनै नेता देखाउन चुनौती दिए ।

‘घर बनाउन एउटाले दान नदियो रे । दान नलिई घर बनाएका कुन चाहिं पार्टी अफिस छ मलाई देखाइदिनुस् न है । आफ्नै पैसाले चुनाव लडेका को–को छन् मलाई बताइदिनुस् । २० जनाले दान दियो कि एउटाले यत्ति फरक कुरा हो’, ओलीले भने, ‘अदालतेल प्रथम दृष्टिमै अरुले बनाएको जस्तो होइन, एमालेले बनाएको बेठीक छैन भनिसक्यो । त्यो एउटा प्वाइन्ट पाएजस्तो लाग्या छ । त्यो खासै प्वाइन्ट होइन । तर, भन्न मन लागे भने हुन्छ ।’

ओलीले सिस्नुपानीको देउसीमा उठाइएका कतिपय विषय बुझेर गरेजस्तो र कतिपय सामाजिक सञ्जालमा कान नछामी काग लखेट्न हिंड्नेजस्तो भएको टिप्पणी गरे । ‘राम्रो लाग्यो, रमाइलो लाग्यो । उहाँहरुको संस्थाको नाम नै सिस्नो पानी । नाम नै सिस्नोमपानी भएको संस्थाले व्यंग्य गर्छ, त्यो हामीलाई थाहा छ । अलिकति निराशाको पाटो, धेरै निराश हुनुपर्ने आवश्यकता छैन । नेपाल अनेक प्रकारका अप्ठेरा उचारचढाव र कठिनाइहरु झेलेर यहाँ आएको छ । राणा शासन, शाही शासन, पञ्चायती शासन अरु धेरै उतारचढावहरु झेलेर आएको छ । हाम्रो समाज डेमोक्रेसी झेलेर आएको समाज हो । आलोचना र गाली जति गरे पनि भो । जे भने पनि भो । त्यो सुन्ने पनि बानी परिसक्या छ । तर, निराश हुनुपर्ने अवस्था छैन । गाली गलैजको असभ्य र अश्लिल संस्कृतितिर होइन, सम्भ संस्कृतितिर लानुपर्छ । गल्ती गर्नेलाई केही भन्न नपाउने होइन । मज्जाले भन्न पाइन्छ । सचिन्छ भने सच्चिन्छ । सच्चिएन भने सिद्धिन्छ । गल्ती गर्नेको बाटो ल्यही हो । मेरो आग्रह के हो भने नेपालीहरुले शिष्ट र सभ्य भाषामा बोल्ने गरौं नेपालीहरुले माने पनि हुनछ नमाने पनि हुन्छ सकेसम्म सत्यमा आधारित भएर बोल्ने गरौं’, उनले भने ।

सिस्नुपानीको देउसीमा सन्तुलन मात्र मिलाए हुनेमा बढी आफ्नो घिर्तातिर ताकिएको टिप्पणी गरे । पञ्चायतविरुद्ध लड्मा आफूलाई कसैले राजतन्त्र पहरो हो पहरोसँग लड्दा कुहिनो भाचिन्छ भनेको स्मरण गर्दै ओलीले तर राजतन्त्र र अधिनायकवाद ढालिएको बताए ।

ओलीले देश विकासका कहाँबाट कहाँ पुगेको बताए । उनले अगाडि भने, ‘आज देश कुनै पनि ठाउँ दुर्गम नरहेको अवस्थामा पुगेको छ । ९८ प्रतिशत जनातमा पानी पुगेको अवस्था छ । ९८ प्रतिशतमै बिजुली पुगेका छ । बाटाहरु जिल्ला जिल्लामा र राजमार्गहरु बनेका छन् । टनेल युगमा प्रवेश गरेका छौं । प्रतिव्यक्र्ति आम्दानी तीन सय डलरबाट बढेर १३ सय पुगेको छ । गल्ती पनि कसैले गरेको होला, विकास पनि गरेको छ’, ओलीले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us