१ सय ६० यात्रु लिएर भारत उड्न लागेको जहाजमा फेरि बम थ्रेटको हल्ला

काठमाण्डु टुडे २०८१ कार्तिक १७ गते १९:३३ मा प्रकाशित

काठमाण्डु, १७ कात्तिक– शनिबार तेश्रोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उड्ने तयारीमा रहेको भारतीय जहाजमा बम भएको हल्ला चल्यो ।
एयर इन्डियाको जहाज उड्न लागेका बेला बम रहेको सूचना आएपछि सबै यात्रुलाई ओरालेर सुरक्षा जाँच गरिएको थियो । १ सय ६८ यात्रु लिएर आएको उक्त जहाज ३ः४० मा अवतरण गरेको थियो ।

जहाज जिल्लाका लागि उड्नै लागेका बेला बम भएको खबर आएको थियो । नागरिक उड्ययन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले हल्लापछि प्रहरी र नेपाली सेनाको टोलीले सुरक्षा जाँच गरेको बताए ।

जाँचका क्रममा सूचनामा भनिएजस्तो बम नखेटिएपछि जहाज दिल्लीका लागि उडेको जानकारी उनले दिए । सुरक्षाका लागि कुकुरसमेत प्रयोग गरिएको थियो । दिउँसो ४ः ३१ मा १ सय ६० यात्रु लिएर उड्ने तयारी गरिरहेका बेला बम थ्रेटको सूचना आएको थियो ।

यसअघि गत साता एयर इन्डिया र दुई साताअघि भिस्ताराको जहाजमा बम भएको सूचना आएपछि त्यसै गरी सुरक्षा जाँच गर्दा केही भेटिएको थिएन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us