महोत्तरी, १७ कात्तिक-महोत्तरीको भंगहा नगरपालिका -४ रामनगरविर्तामा हतियारधारी समूहले आक्रमण गरेको छ ।
घटनामा ४५ वर्षीय रामबाबु महतो घाइते भएको महोत्तरी प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।
महतोको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनीमाथि तीन जनाको संख्यामा आएको अज्ञात समूहले बिहान ५ बजेको समयमा तरबारबाट आक्रमण गरेको थियो ।
स्थानीयले एक राउन्ड गोली चलेको बताए पनि प्रहरीले पुष्टि गरेको छैन । प्रहरीका अनुसार महतो चिया पसल चलाउंथे ।
बिहान चिया पसल खोलिरहेका बेला एक्कासि उनीमाथि आक्रमण भएको थियो । प्रहरीले घटनास्थलबाट आक्रमणकारीले प्रयोग गरेको मोटरसाइकल र तरबारको खोल बरामद गरेको छ ।
घटनामा संलग्नको पहिचान भइसकेको र उनीहरुको खोजी जारी रहेको जयसवारले बताए ।