पूर्वडीआईजी जोशीलाई कास्कीका एसपीले दिए अस्पताल बस्ने सुविधा

काठमाण्डु टुडे २०८१ कार्तिक ४ गते १३:१८ मा प्रकाशित

काठमाण्डु, ४ कात्तिक– सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई हिरासतबाट अस्पतालमा सारिएको छ । कास्कीका एसपी श्यामबाबु ओलियाले उनलाई हिरासत छलेर अस्पतालमा बस्ने सुविधा दिएका हुन ।

गएको ६ असोजमा काठमाण्डुको बानेश्वरबाट पक्राउ परेका जोशी यसअघि हिरासतमा थिए । तर, कास्कीको प्रमुखको रूपमा सरुवा भएर असोज १४ मा हाजिर भएपछि प्रहरी उपरीक्षक ओलियाले उनलाई अस्पताल बस्ने सुविधा दिएका हुन् ।

जोशीलाई अहिले पोखरास्थित फिस्टेल अस्पतालमा राखिएको छ । यसअघि बिसन्चो भएको भन्दै जोशीले अस्पताल बस्ने प्रयास गरेका थिए । तर, तत्कालीन एसपी मोहन थापाले उनलाई अस्पताल बस्ने अनुमति दिएनन् ।

त्यसबेला स्वास्थ्य परीक्षण गराउँदा उनलाई निमोनिया देखिएको थियो । तर, अहिले निमोनिया मुक्त भएपछि पनि उनलाई अस्पताल राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us