काठमाण्डु, ४ कात्तिक– पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन भएको छ । मिश्रको आज आइतबार बिहान निधन भएको हो । डेंगु संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना भएका मिश्रको उपचारकै क्रममा निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ ।
साढे पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न मिश्र वन्यजन्तु पर्यटन विकासमा बढी सक्रिय थिए । ७३ वर्षीय मिश्रले चार दशकअघि भेन्चर ट्राभल स्थापना गरेका थिए ।
उनको नवलपरासीमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट, भेन्चर ट्राभल, ठमेलमा अपार्टमेन्ट लगायत व्यवसाय छन् । भेन्चर ग्रुप अफ कम्पनिजका कार्यकारी अध्यक्ष मिश्रको शव अहिले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि ललितपुर कुपोन्डोलस्थित उनकै निवासमा राखिने छ । त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।