धनराज गुरुङ र ऋषिकेश पोखरेल सहकारी ठगीमा संलग्न छैनन्ः सूर्य थापा

काठमाण्डु टुडे २०८१ कार्तिक ४ गते ९:१७ मा प्रकाशित

काठमाण्डु, ४ कात्तिक– सहकारीको बचत अपचलन हिनामिना छानबिन गर्न गठित संसदीय समितिका सभापति एवं एमाले सांसद् सूर्यबहादुर थापाले काँग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसद एवं प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल सहकारी ठगी प्रकरणमा दोषी नदेखिएको दाबी गरेका छन् ।

उनले धनराज  पत्नी ज्योति गुरुङ र पोखरेल पत्नी अञ्जला कोइरालामाथि ठगीको आरोप लागेको बताए । आफूहरुलाई ४० वटा सहकारीको बचत अपचलनबारे छानबिन गर्न भनिएको भन्दै उनले गुरुङ र पोखरेल संलग्न भनिएका सहकारीको छानबिन गर्ने कार्यादेश (टिओआर) नभएको बताए ।

यद्यपि गुरुङ पत्नी ज्योती प्रबन्धक रहेको लितपुर महानगरपालिका–५ महालक्ष्मी स्थानमा रहेको मितेरी सहकारी संस्थाको स्थलगत अध्ययनमा गएर सहकारीका अध्यक्ष कुम्भराज गुरुङसँग जानकारी लिएको थापाले उल्लेख गरे ।

एमाले सांसद पोखरेलको मोरङको धनपालथान गाउँपालिका– ४ कर्सियामा  रहेको उमागौरी कृषि सहकारी संस्थाको ठगीमा नाम मुछिएको छ ।

सहकारीले ०७५ सालमा गरेको आन्तरिक छानबिनबाट ज्योतीले १२ करोड ५० लाख बचत हिनामिना गरेको निस्कर्ष निकालिएको र त्यसको एक वर्षपछि उनीहरुबीच सम्बन्ध विच्छेद भएको तर्क थापाको थियो ।

‘ऋषिकेश पोखरेल र धनराज गुरुङको विषय हाम्रो टीओआरमा थिएन’, थापाले भने, ‘तर, कुरा बाहिर आइसकेपछि हामी स्थलगत अनुगमनमा गएर सहकारीका अध्यक्ष कुम्भराज गुरुङसँग वास्तविकता बझ्ने काम गरेका हौं ।’

गुरुङ ठगीमा संलग्न भए/नभएको किटान गर्न नसकिएकाले राज्यका छानबिन गर्ने निकायलाई छानबिन गर्न प्रतिवेदनमा निर्देशन दिइएको थापाको भनाइ छ । पोखरेल पत्नीको विषयमा एक पत्रिकामा समाचार आएपछि थाहा भएको भन्दै उनले समयको सीमाका कारण थप बुझ्न नसकिएको जिकिर गरे ।

समितिले सचिव, मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्रीलाई उनीहरुका केही प्रतिबद्धता र केही विषयमा जानकारी लिन पत्राचार गरिएको र सो काम बाँकी रहेकाले पोखरेल पत्नी कोइरालाबारे बुझ्न नभ्याइएको तर्क थापाले गरे । ‘ऋषिकेश पोखरलसितलाई छानबिन गरी दोषी करार गरेर समावेशी बनाउनुपथ्र्यो भन्ने कुरा ठीक होइन । काँग्रेसको फलानो, एमालेको फलानो, माओवादीको फलानो भनेर भाग बिलो लगाउने विषय यो होइन’ , थापाले भने ।

उनले ऋषिकेश पोखरेल आफैं सहकारी ठगीमा संलग्न नभएको दाबी गरे । धनराज पत्नी ज्योतीको नाम भने सहकारी ठगी गरेर फरार २९ जनाको सूचीमा रहेको थापाले बताए । उनले ज्योती हाल अमेरिकामा रहेको जानकारीमा आएको समेत उल्लेख गरे ।

‘धनराज गुरुङलाई पनि के कसो भएकोे हो । छानबिन गरिसोय भनेर वत्तीय विश्लेषणको च्याप्टरमा स्पष्ट लेखेका छौं । संलग्नता छ कि छैन छानबिन गर्नुस भनेर छानबिन गर्ने निकायलाई निर्देशन दिएका हौं’, उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछाने पक्राउको विरोधमा शनिबार पोखरामा गरेको प्रदर्शनमा सहभागीले सहकारी ठगीमा संलग्न रहेको भन्दै काँग्रेस उपसभापति गुरुङ र लेखा समिति सभापति पोखरेलको पोष्टर बोकेका थिए ।

सहकारी ठगीमा संलग्न सत्तारुढ काँग्रेस–एमालेमा नेतालाई जोगाउन लामिछानेलाई पक्राउ गरिएको आरोप प्रदर्शनकारीको छ ।

एमाले सांसद पोखरेलको उमा गौरी कृषि सहकारी संस्थाको संस्थापक सदस्य हुन् । सहकारीकी सञ्चालक पोखरेल पत्नी अञ्जलामाथि विभिन्न बैंक तथा वित्तिय संस्थाबाट पीडितको जग्गा धितो राखेर ११ करोड ५६ लाख रुपैयाँ ऋण निकालेको तथा बचतकर्ताको दुई करोड तीन लाख ५४ हजार फिर्ता नगरेकोमा विवादमा आएकी छन् ।

 काँग्रेस उपसभापति गुरुङ  मितेरी सहकारी संस्थाको रकम घोटालामा मुछिएका छन् ।

धनराज र सोही सहकारीकी महाप्रबन्धक उनकी पत्नी ज्योतीसहितले साढे १२ करोड हिनामिना गरेको भन्दै सहकारीका सचिव वोधविक्रम थापाले गत भदौमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी दिएका थिए ।

सरकारीको बचत अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीयछानबिन समितिले सहकारीका अध्यक्ष कुम्भराज गुरुङलाई बोलाएर जानकारी लिएको थियो ।

सहकारीको ऋण तिर्नुपर्ने भएपछि धनराजले ज्योतिसँग ‘सहकारी डिभोर्स’ गरेका थिए । सो विषय संसदीय छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

धनराजले २०७६ साल फागुन २९ मा आफूले ज्योतीसँग श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेकाले उनले गरेको कारोबारको जिम्मेवारी लिन नसक्ने बताउँदै आएका छन् ।

तर, सहकारीका अध्यक्ष कुभ्भराजका अनुसार धनराज र ज्योति किस्ता तिर्न सँगै आउने गरेको बताएका छन् । सम्बन्ध विच्छेद भएपछि पनि धनराजले ज्योतीले लिएको भनिएको ऋणको सावाँब्याज तिर्दै आएका छन् ।

कुम्भरालले समितिमा धनराज र ज्योतिसँग सहकारीको रकम फिर्ताका विषयमा पटकपटक सँगै बसेर कुरा गरेको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us