मकवानपुरमा श्रीमानले केटा बोलाएर गराए श्रीमतीमाथि सामूहिक बलात्कार

काठमाण्डु टुडे २०८१ कार्तिक ३ गते २०:३४ मा प्रकाशित

मकवानपुर, ३ कात्तिक- मकवानपुरमा एक श्रीमानले केटाहरु बोलाएर श्रीमतीमाथि सामूहिक बलात्कार गराएका छन् ।

मनहरी गाउँपालिका–५, स्थित आफ्नै घरमा भएको सामूहिक बलात्कारमा उनी स्वयं संलग्न थिए ।

५० वर्षीया पीडित महिलाले आफूमाथि श्रीमानकै संलग्नतामा सामूहिक बलात्कार भएको भन्दै  १ कात्तिकमा मकवानपुर प्रहरीमा जाहेरी दिएका हुन् ।

मकवानपुर प्रहरीका डिएसपी श्यामु अर्यालले पीडित महिलाको दिएको उजुरीका आधारमा उनका श्रीमानलाई पक्राउ गरिएको बताए ।

उनलाई शुक्रबार मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

३० असोजको राति ६० वर्षीय श्रीमानसहित १९ र २० वर्षका दुई युवाले आफूमाथि सामूहिक बलात्कार गरेको महिलाले उजुरीमा उल्लेख गरेकी छन् । तर, ती युवाको पहिचान गर्न नसकेको उनको भनाइ छ ।

उनीहरुको खोजी भइरहेको डीएसपी अर्यालले बताए ।  पीडित महिलालाई भने हेटौंडास्थित महिला सेफ हाउसमा राखिएको छ ।

प्रहरीका अनुसार पीडित महिला ३ वर्षअघि दोस्रो विवाह गरेर आएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us