काठमाण्डु, ३ कात्तिक– सहकारी ठगी प्रकरणमा हिजो शुक्रबार पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई हिजो राति नै पोखरा ल्याइएको छ ।
लामिछानेलाई गाडीबाट पोखरा ल्याइएको हो । पोखरा ल्याएपछि सबैभन्दा पहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल)मा उनको स्वास्थ्य परीक्षण गरीएको छ ।
लामिछाने इमरजेन्सी वार्डमा छिरेको ५ मिनेटमै निस्किएका थिए । रविसँगै उनकी श्रीमती निकिता पौडेल र रास्वपाका नेता कार्यकर्ताहरू पनि इमरजेन्सी वार्डमा सँगै छिरेका थिए भने अन्यलाई प्रवेश रोक लगाइएको थियो ।
स्वास्थ्य परीक्षण गराएर फर्किएपछि रविले पत्रकारसँग अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिक्रिया दिए । ‘यो केसमा मैले धेरै भनिसकेको छु । अब अनुसन्धानलाई सघाउने काम गर्छु । कसैलाई केही भन्नु छैन,’ उनको छोटो प्रतिक्रिया थियो ।