काठमाण्डु, ३ कात्तिक– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले पोखराको मानव अधिकार चोकमा आफ्ना सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शन गरेका छन् ।
सरकारले राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको भन्दै रास्वपाले प्रदर्शन गरेको हो ।
सहकारी ठगीमा संलग्न सत्तारुढ काँग्रेस–एमालेमा नेतालाई जोगाउन लामिछानेलाई पक्राउ गरिएको आरोप प्रदर्शनकारीको छ ।
प्रदर्शनकारीले सहकारी ठगीमा नाम मुछिएका काँग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसद एवं प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलको पोस्टर बोकेका थिए ।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा ल्याएको आरोपमा उक्त मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई शुक्रबार साँझ बनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ गरी प्रहरीले राति नै पोखरा लगेको थियो ।
कास्की प्रहरीले जिल्ला अदालत कास्कीबाट संगठित अपराध र सहकारी ठगीमा अनुसन्धानका लागि लामिछानेलाई पक्रन शुक्रबारै अनुमति लिएको थियो ।
एमाले सांसद पोखरेलको मोरङको धनपालथान गाउँपालिका– ४ कर्सियामा उमा गौरी कृषि सहकारी संस्थाको ठगीमा नाम मुछिएको छ । पोखरेल उक्त सहकारीको संस्थापक सदस्य हुन् ।
सहकारीकी सञ्चालक पोखरेल पत्नी अञ्जला कोइरालामाथि विभिन्न बैंक तथा वित्तिय संस्थाबाट पीडितको जग्गा धितो राखेर ११ करोड ५६ लाख रुपैयाँ ऋण निकालेको तथा बचतकर्ताको दुई करोड तीन लाख ५४ हजार फिर्ता नगरेकोमा विवादमा आएकी छन् ।
यस्तै काँग्रेस उपसभापति गुरुङ ललितपुर महानगरपालिका–५ महालक्ष्मी स्थानमा रहेको मितेरी सहकारी संस्थाको रकम घोटालामा मुछिएका छन् ।
धनराज र सोही सहकारीकी महाप्रबन्धक उनकी पत्नी ज्योतीसहितले साढे १२ करोड हिनामिना गरेको भन्दै सहकारीका सचिव वोधविक्रम थापाले गत भदौमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी दिएका थिए ।
सरकारीको बचत अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीयछानबिन समितिले सहकारीका अध्यक्ष कुम्भराज गुरुङलाई बोलाएर जानकारी लिएको थियो । समितिले सहकारी ठगीमा गुरुङको संलग्नता रहेको औंल्याएको छ ।
सहकारीको ऋण तिर्नुपर्ने भएपछि धनराजले ज्योतिसँग ‘सहकारी डिभोर्स’ गरेका थिए । सो विषय संसदीय छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।
धनराजले २०७६ साल फागुन २९ मा आफूले ज्योतीसँग श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेकाले उनले गरेको कारोबारको जिम्मेवारी लिन नसक्ने बताउँदै आएका छन् ।
तर, सहकारीका अध्यक्ष कुभ्भराजका अनुसार धनराज र ज्योति किस्ता तिर्न सँगै आउने गरेको बताएका छन् । सम्बन्ध विच्छेद भएपछि पनि धनराजले ज्योतीले लिएको भनिएको ऋणको सावाँब्याज तिर्दै आएका छन् ।
कुम्भरालले समितिमा धनराज र ज्योतिसँग सहकारीको रकम फिर्ताका विषयमा पटकपटक सँगै बसेर कुरा गरेको बताएका थिए ।