
पोखरा, ३ कात्तिक- प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई स्थलमार्गबाट पोखरा पुर्याउन ८ घण्टा लगाएको छ ।
सहकारी ठगी र संगठित अपराध आरोपमा अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार सांझ बनस्थलीस्थित रास्वपा कार्यालयबाट पक्राउ गरिएको थियो ।
लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरी राति नै स्थलमार्गबाट पोखरा लगेको हो ।
शनिबार सांझ ७ बजे काठमाण्डुबाट हिंडाइएकामा शुक्रबार बिहान ३ बज्न केही मिनेट बांकी हुंदा उनलाई कास्की प्रहरी कार्यालय पुर्याइएको थियो ।
लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको सिआईबीले जनाएको छ ।
लामिछानेलाई पोखरा लैजाने क्रममा रास्वपाका कार्यकर्ताले राजमार्गकाठाउँठाउँमा नाराबाजी गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीको परिसरसमासमेत कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।
उनीहरुले पनि लामिछानेको पक्षमा तथा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका थिए ।
गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक लामिछानेमाथि सहकारीको बचत गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ ।
संसदीय छानबिन विशेष समितिले भने सहकारीको बचत अपचलनमा लामिछानेको संलग्नता पुष्टि नभएको प्रतिवेदनमा औंल्याएको थियो ।
तर, रकम गोरखा मिडियामा आइसकेपछि खर्च गर्नमा भने लामिछानेको संलग्नता देखिएकाले कानूनअनुसार कारबाही गर्न सिफारिस गरेको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई शुक्रबार अनुमति दिएको थियो ।