रवि लामिछाने पक्राउबारे बोले बालेन

काठमाण्डु टुडे २०८१ कार्तिक २ गते २०:०९ मा प्रकाशित

काठमाण्डु, २ कात्तिक– काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले गल्ती नगरेको भए पक्राउ पुर्जी जारी हुँदैमा नआत्तिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आग्रह गरेका छन् ।

शुक्रबार साँझ लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेलगत्तै बालेनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

साहले कानूनभन्दा माथि कोही पनि नहुने र पक्राउ पुर्जी जारी हुँदैमा डराउनु नपर्ने उल्लेख गरेका छन् । ‘कानूनभन्दा माथि कोही पनि हुँदैन । बिनाआधार र प्रमाण पक्राउ पुर्जी जारी हुँदैन । गल्ती गरेको छैन भने पक्राउ पुर्जी जारी हुँदैमा डराउनुपर्दैन’, साहले लेखेका छन् ।

लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी), काठमाण्डु प्रहरी परिसर र काठमाण्डु उपत्यका अपराध महाशाखाको टोलीले वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ गरी शुक्रबारै पोखरा लगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us