असार १७ गते मध्यरातमै देउवा र ओलीबीच भएको थियो रवि लामिछानेलाई पक्राउ गर्ने सहमति

काठमाण्डु टुडे २०८१ कार्तिक २ गते १९:५७ मा प्रकाशित

काठमाण्डु, २ कात्तिक– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले वर्तमान काँग्रेस–एमाले गठबन्धन सरकार बन्दा नै आफूलाई पक्राउ गर्ने सहमति भएको बताएका छन् ।

सहकारी ठगी र संगठित अपराधको कसुरमा शुक्रबार साँझ प्रहरीले पक्राउ गर्नुअघि पार्टी कार्यालय वनस्थलीमा जम्मा भएका कार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्दै लामिछानेले त्यस्तो बताएका हुन् ।

काँग्रेस- एमालेबीच नयाँ सरकार गठन गर्ने बेलैमा जसरी भए पनि आफूलाई जेल कोच्ने सम्झौता भएको दाबी उनको छ । ‘नयाँ गठबन्धनको सरकार गठन हुँदा जसरी भए पनि रविलाई कोच्नुपर्छ भन्ने सम्झौता भएको थियो’, लामिछानेले भने ।

काठमाण्डुको बुढानीलकण्ठस्थित एक व्यवसायीको घरमा गत २७ असारको मध्यरातमा काँग्रेस र एमालेबीच सत्तासमीकरणको सहमति भएको थियो ।
कास्की प्रहरीले शुक्रबार सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न जिल्ला अदालत कास्कीबाट अनुमति लिएको थियो ।

त्यसलगत्तै कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी), काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाण्डुलाई लामिछानेलाई पक्राउ गरी पोखरा पठाइदिन पत्राचार गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us