काठमाण्डु, २ कात्तिक– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो दल विभाजन गर्न खोजिएको बताएका छन् ।
सहकारी ठगी र संगठित अपराधको कसुरमा शुक्रबार साँझ प्रहरीले पक्राउ गर्नुअघि पार्टी कार्यालय वनस्थलीमा जम्मा भएका कार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्दै लामिछानेले रास्वपा फुटाउने षड्यन्त्र भएको बताएका छन् ।
तर, त्यसबारे उनले थप बताएनन् । शुक्रबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजनमा बसेको विपक्षी गठबन्धनको बैठकले प्रधानमन्त्री केपी ओली राजनीतिक दलहरु फुटाउने षड्यन्त्रमा रहेकाले त्यसको प्रतिवाद गर्ने निर्णय गरेको थियो । लामिछानेले पार्टी फुटाउने र आफूलाई चुनावमा उम्मेदवार बन्न रोक्ने तयारी भएको बताए ।
आफूलाई चुनाव नै लड्न नदिने गरी प्रतिशोध साँध्न खोजिएको लामिछानेले खुलाए । आफूले कुनै अपराध गरेको नगरेको भन्दै उनले आफूविरुद्ध राज्यले सम्पूर्ण स्रोत र शक्ति लगाएको बताए । लामिछानेले आफू र आफ्नो दलविरुद्धको षड्यन्त्रलाई नेपाली नागरिकले हेरेको उल्लेख गरे ।
‘म सम्मानित अदालतमाथि सम्मान गर्छु । हुन त यहाँ अदालत पनि मिलाउँला । तलाई कहाँ छोडौंला र तँलाई चुनावै लड्न नपाउने र तेरो पार्टी नफुटाई छाड्दिन भनेर मान्छेहरु लागेको मलाई थाहा छ’, उनले भने, ‘तर ती सबै चिज सामना गर्ने साहस बोकेर हामी उभिएका छौं ।’
उनले सरकारले आफूविरुद्ध दादागिरी गरेको आरोपसमेत लगाए । सरकारको दादागिरीको सामना गरिने उनको भनाइ थियो ।
उनले राज्यले आफूमाथि गरेको दादागिरीको डटेर सामना गर्न पार्टी पंक्तिलाई अपिल गरे ।
लामिछानेले देशले आफूहरुमाथि आशा र भरोसा गरेकाले त्यसमाथि प्रहार गरिएको टिप्पणी गरे । आफू कुनै पनि न्यायिक जाँच दिन तयार रहेको भन्दै अदालती प्रक्रियालाई सम्मान गर्ने उनले प्रतिबद्धता जनाए ।
‘देशले आशा र भरोसा गरेको थियो । त्यसमाथि प्रहार भएको छ । यो प्रहारलाई हामी सामना गर्नेछौं’, उनले भने, म कुनै पनि किसिमको न्यायिक जाँच दिनको लागि अदालती प्रक्रियालाई सम्मान गर्न चाहन्छु । तर यो राजनीतिक पूर्वाग्रहमा खुलेर लड्न अपिल गर्न चाहन्छु ।’