विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् बैठक जारी

काठमाण्डु टुडे २०८१ कार्तिक २ गते १६:५० मा प्रकाशित

काठमाण्डु,२ कात्तिक– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औं बैठक सुरु भएको छ ।

गएको १० असोज देखी १३ असोजको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने लगायत विषयमा छलफल गर्न प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा मनसुनजन्य विपद्का घटनाबाट मृत्यु भएका व्यक्तिका परिवारको स्वास्थ्य बीमा, प्रभावितका लागि अस्थायी आवास निर्माणसहित पुनः निर्माण तथा पुनःस्थापनालाई तीव्रता दिने र विपद्पश्चातको खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन थप हेलिकप्टर व्यवस्था गर्नेसहित सात प्रस्तावमाथि छलफल हुँदै भईरहेको स्रोतले जानकारी दिएको छ ।

बैठकमा १९ कात्तिक २०८० पछिका सबै विपद्का घटनाहरुको समीक्षा गर्ने, त्यसयताका घटनामा मृत्यु भएका व्यक्ति, सुरक्षाकर्मी, एवम् खोज तथा उद्धारका क्रममा खटिइ मुत्यु भएका सुरक्षाकर्मीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा समवेदना प्रकट गर्ने र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने, विपद्पश्चातको खोज, उद्धार तथा राहत वितरणलगायतका कार्यमा सम्लग्न सबै व्यक्ति एवं सङ्घ–संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्ने पनि कार्यसूची छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us