काठमाण्डु,२ कात्तिक– आफ्नो व्यस्तता बढेको भन्दै गृहमन्त्री रमेश लेखकले राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा अनुपस्थित भएका छन् । बैठक आज शुक्रवार १२ बजे सिंहदरबारमा बसेको थियो ।
उक्त बैठकमा बाढी पहिरो लगायतका विपत्तिबाट भएको क्षति र सरकारले विपद् व्यवस्थापनका सन्दर्भमा गरिरहेको कामका बारेमा छलफलका लागि गृहमन्त्री लेखकलाई बोलाइएको थियो ।
तर अन्तिम समयमा आएर उनले आफू निकै व्यस्त रहेको बताउँदै बैठकमा आउन नमानेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले बैठकमा जानकारी गराएका छन । गृहमन्त्रीको प्रतीक्षा गर्दै बैठक केही ढिला सुरु भएको थियो ।