बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा गेष्टहाउस सञ्चालक पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक २ गते १४:५४ मा प्रकाशित

काठमाण्डु,२ कात्तिक– प्रहरीले बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक गेष्टहाउस सञ्चालक पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका–६ घर भइ काठमाडौंको नयाँ बसपार्कस्थित नीमा गेष्टहाउस सञ्चालन गर्दै आएका २९ वर्षीय सुजन तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । उनले बालिकालाई ललाइफकाई आर्थिक प्रलोभनमा पारेर यौन व्यवसायमा लगाएको पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन ।

प्रति ग्राहक १ घण्टादेखि २ घण्टासम्म यौन सम्पर्क गरे वापत उनले २ देखि ३ हजार रुपैयाँ बुझ्ने गरेको एसपी मिश्रले जानकारी दिए । पीडित बालिकालाई उनले एक महिनादेखि गेष्टहाउसबाट बाहिर निस्कन समेत नदिई यौन व्यवसायमा लगाएको आरोप छ ।

बालिका बिरामी हुँदा समेत उपचार गर्नुका साटो यौन व्यवसायमा लगाएको पाइएको ब्यूरोले जानकारी दिएको छ । बिहीबार गेष्टहाउसबाटै पक्राउ परेका तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा काठमाण्डु जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us