काठमाण्डु,२ कात्तिक– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन् । पार्टी सभापति, पदाधिकारीहरु र काठमाण्डुमा रहेका केन्द्रीय सदस्यहरु कार्यालयमा जम्मा भएको रास्वपाका एक नेताले जानकारी दिएका छन ।
सभापति रवि लामिछानेलाई विधिसंगत तरिकाले प्रहरीले पक्राउ गरेमा विरोध नहुने ति नेताको भनाइ छ । केन्द्रीय कार्यालयमा रहेका ति नेताले भने, ‘पक्राउ गर्न प्रहरी आयो भने प्रतिवाद गर्ने पार्टीको तयारी छैन । कानुन सबैले मान्नुपर्नेमा हामी सचेत छौं ।’
नेताहरु सभापति लामिछानेको कार्यकक्षमा रहेको उनले जानकारी दिएका छन । ६ असोजमा पूर्व डिआइजी छबिलाल जोशी पक्राउ परेपछि रास्वपाले सर्कुलर जारी गरेर नेता कार्यकर्तालाई कार्यालयमा आउन आव्हान गरेको थियो ।
कदाचित् प्रहरीले सभापति लामिछानेलाई पक्राउ गरेमा कार्यकर्तालाई कार्यालयमा उपस्थित हुन आव्हन नगरिने उनले बताएका छन ।