खेतमा लगाएको विद्युतीय बारमा करेन्ट लागेर एक बालिकाको मृत्यु, दुई घाइते

काठमाण्डु टुडे २०८१ कार्तिक २ गते १२:३१ मा प्रकाशित

काठमाण्डु,२ कात्तिक– महोत्तरीमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ भने अन्य दुई बालिका घाइते भएको छ । जंगली जनावरबाट बालीनाली जोगाउन लगाएको विद्युतीय बारबाट करेन्ट लागेर ति बालिकाको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।

गौशाला नगरपालिका ३ पचानटोलका विनोद महतोले लगाएको बारमा करेन्ट प्रवाह भएको नांगो तारमा करेन्ट लागेर स्थानीय १४ वर्षीया करिना महतोको मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिएका छन ।

करिनालाई करेन्ट लागेपछि बचाउन गएका १८ वर्षीया राधाकुमारी महतो र १४ वर्षीया विभाकुमारी महतो घाइते भएको स्थानीयले जानकारी दिएका छन । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

बिहान साढे ७ बजेतिर उनीहरु काम गर्न खेततिर पुगेको बेला बारमा छाडिएको नांगो तारमा करेन्ट लागेको थियो । करिनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us