मीनबहादुरले दिएको जग्गा सहर्ष लिएका हौं, एमाले कमजोर बनाउन चाहनेले गलत प्रचार गरेः शंकर पोखरेल

काठमाण्डु टुडे २०८१ कार्तिक १ गते १८:५७ मा प्रकाशित

बाँके, १ कात्तिक-एमाले महासचिव शंकर पोखरेलले व्यवसायी  मीनबहादुर गुरूङबाट पार्टी कार्यालय बनाउन जग्गा दान लिनु कुनै आश्चर्यको विषय नभएको बताएका छन् ।

बाँकेको कोहलपुरमा बिहीबार कार्यकर्तालाई सम्बोधन गर्दै महासचिव पोखरेलले व्यवसायी गुरूङले जग्गा दान गर्न चाहेपछि एमालेले सहर्ष स्वीकार गरेको बताए ।

गुरूङले कीर्तिपुरमा दिएको १० रोपनी १४ आना जग्गामा पार्टी कार्यालय बनाउन गत २४ असोजमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र उनकी पत्नी राधिका शाक्य, व्यवसायी गुरूङ र उनकी पत्नी सावित्री घलेले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

´मीनबहादुरजीले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन इच्छा जाहेर गर्नुभयो,`पोखरेलले भने, ‘हाम्रो सचिवालयको बैठकले जग्गा सहयोग स्वीकार गर्ने निर्णय गरेर लिएका हौँ।`

मिनबहादुरसँग सहयोग लिँदा एमालेले कुनै सम्झौता नगरेको जिकिर उनको थियो ।

मीनबहादुर गुरूङ जोडिएको ललीता निवास जग्गा प्रकरणसँग एमालेले दान लिएको  जग्गाको कुनै साइनो नरहेको उल्लेख गरे । एमाललेलाई कमजोर बनाउन चाहने तत्वले जग्गा दान लिएको विषयलाई अनावश्यक रूपमा गलत प्रचार गरेको आरोप पोखरेलले लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us