काठमाण्डु, १ कात्तिक– आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचनको लागि निर्वाचन आयोगले महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न राजनीतिक दलहरूलाई निर्देशन गरेको छ ।
निर्वाचन आयोगले आज बिहीबार विज्ञप्ति जारी गर्दै आयोगको यही असोज ३० गते बसेको बैठकले यस्ता निर्देशन दिने निर्णय गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तहमा रिक्त रहेको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको छ ।’
आयोगले यसअघि नै उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका सार्वजनिक गरिसकेको छ । आयोगका अनुसार स्थानीय तहमा ४० पद रिक्त छन् ।
१ नगरपालिका प्रमुख, १ नगरपालिका उपप्रमुख, २ गाउँपालिका अध्यक्ष, ४ गाउँपालिका उपाध्यक्ष, २ जिल्ला समन्वय समिति प्रमुख पद रिक्त छन् । यसैगरी २१ नगरपालिका वडाध्यक्ष र ९ गाउँपालिका वडाध्यक्षको पद उपनिर्वाचन हुँदै छ ।