काठमाण्डु, १ कात्तिक– एमाले महासचिव शङ्कर पोखरेलले व्यवसायी मीनबहादुर गुरुङ जोडिएको बालुवाटारको सरकारी जग्गा ललिता निवास प्रकरणसँग एमालेलाई दान दिएको कीर्तिपुरको जग्गासँग कुनै साइनो नरहेको स्पष्ट पारेका छन ।
आज (बिहिबार) बाँकेको कोहलपुरमा कार्यकर्तालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले पार्टी कार्यालय बनाउन जग्गा चाहिएकाले गुरुङसँग १० रोपनी १४ आना जग्गा एमालेले सहर्ष स्वीकार गरेको पनि बताएका छन । उनले गुरुङसँग जग्गा सहयोग लिँदा कुनै अदृश्य सम्झौता नगरेको दाबी गरे ।
साथै एमालेले व्यवसायीबाट जग्गा सहयोग लिनु आश्चर्यको विषय नभएको पनि बताएका छन । महासचिव पोखरेलले भने, ‘उद्योगी मीनबहादुर गुरुङ जोडिएको ललिता निवास प्रकरणसँग एमालेले लिएको कीर्तिपुरको जग्गाको कुनै साइनो छैन ।
उहाँले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन इच्छा जाहेर गर्नुभयो । हाम्रो सचिवालयको बैठकले जग्गा सहयोग स्वीकार गर्ने निर्णय गरेकाले लिएका हौँ ।’