
काठमाण्डू, २६ असोज- नेपालमा यस वर्षको मनसुन शनिबारदेखि पूर्ण रूपमा बाहिरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० देखि बाहिरिन सुरू गरेको मनसुन शनिबारबाट पूर्ण रूपमा बहिर्गमन भएको हो ।
शनिबार अपराह्न एक सूचना जारी गर्दै विभागले बाँकी रहेका बागमती, मधेस प्रदेश र कोशी प्रदेशबाट पनि बाहिरिएसँगै मनसुन देशबाटै बाहिरिएको हो ।
यसअघि असोज २० गते सुदूरपश्चिम तथा कर्णाली र लुम्बिनीका केही भागबाट तथा असोज २२ गते कर्णली, लुम्बिनी, गण्डकी र काठमाण्डू उपत्यकाबाट पूर्ण रूपमा र बागमती र मधेस प्रदेशमा आंशिक रूपमा मनसुन बाहिरिएको थियो ।
शनिबार भने मधेस र बागमतीका बाँकी भाग र कोशीबाट समेत मनसुन बाहिरिएको हो ।
यसपालि मनसुन ढिला गरी जेठ २८ मा भित्रिएको थियो भने चार दिन ढिला गरी बाहिरिन सुरू भएकामा छ दिनपछि पूर्ण रूपमा बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।