जमेको पानीमा टेक्दा करेन्ट लागेर दुई बालिकाको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज २६ गते १८:२४ मा प्रकाशित

मकवानपुर, २६ असोज- करेन्ट लागेर शनिबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ चिसापानीमा दुई बालिकाको मृत्यु भएको छ ।

चिसापानी पश्चिम-दक्षिणस्थित कभर्ड हल छेउमा जडान गरिएको ११ केभी ‘पिन इन्सुलेटर’ भाँचिन गई नजिकै रहेको फलामको पोलमा सर्ट हुँदा पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह भएको थियो ।

उक्त पानीमा प्रवाह भएको करेन्ट लागेर बाराको निजगढ नगरपालिका–१ निवासी ९ वर्षीया र हेटौंडा उपमहानगरपालिका–१६ निवासी ७ वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।

सँगै हिँडिरहेका दुवै बालिकाले अचानक जमेको पानीमा टेक्न पुग्दा करेन्ट लागेर बेहोस भएका थिए ।

बेहोस भएका दुवै बालिकालाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएकामा उपचार क्रममा चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

दुवै नाबालिका रहेकाले नाम थर गोप्य राखिएको उनको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us