राष्ट्रिय सभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान

काठमाण्डु टुडे २०८१ असोज २६ गते ७:५६ मा प्रकाशित

काठमाण्डु, २६ असेज- राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको नेतृत्वमा अन्तर–व्यवस्थापिका सङ्घ (आईपीयू) को १४९ औँ महासभामा भाग लिन नौ सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डल स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेको छ ।

महासभामा राष्ट्रियसभा अध्यक्ष दाहालले ‘शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग’ विषयमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यसूची रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले महासभामा सहभागी विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल एवं अन्तर–व्यवस्थापिका सङ्घ तथा सचिवालयका पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम समेत छ ।

यही असोज २७ देखि कातिक १ गतेसम्म महासभामा भाग लिन गएको अध्यक्ष दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा एमाले सचेतक सुनिता बराल र  रास्वपा सचेतक निशा डाँगी पनि छन् ।

प्रतिनिधिमण्डलमा राष्ट्रिय सभासदस्यहरू तारामान स्वाँर र कृष्णप्रसाद पौडेल तथा सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयसहितका अधिकृत छन् ।

दाहाल आगामी कातिक ३ गते स्वदेश फर्कने तालिका छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us