राष्ट्रपतिद्वारा विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना

काठमाण्डु टुडे २०८१ असोज २५ गते १९:४८ मा प्रकाशित

काठमाण्डू, २५ असोज-  राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैं २०८१ का अवसरमा आज काठमाण्डु उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन् ।

उनीसँगै प्रथम महिला सविता पौडेलले समेत उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेकी हुन् । 

उक्त अवसरमा राष्ट्रपति पौडेलले उपत्यकाका प्रमुख शक्तिपीठमध्ये नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवतीको पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

आश्विन शुक्ल पक्ष शक्तिस्वरुपा दुर्गा भवानीको विशेष आराधना गर्ने पर्वका रूपमा लिइन्छ ।

यस अवसरमा देवीको पूजा, पाठ एवं दर्शन गर्न भक्तजन मन्दिर पुग्ने गर्छन् ।

बडादसैंका सन्दर्भमा शुक्रबार काठमाडौं उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजाअर्चना गर्न भक्तजनको घुइँचो लागेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us