काठमाण्डू, २५ असोज- सरकार नेतृत्वकर्ता एमालेले पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गरेको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र उनकी पत्नी राधिका शाक्यले संयुक्त रुपमा शुक्रबार काठमाण्डूको कीर्तिपुरमा कार्यालयको वैदिक विधिपूर्वक शिलान्यास गरे ।
एमाले सचिवालयको बिहीबारको बैठकले कीर्तिपुर नगरपालिका-२ मा नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो ।
बल्खुस्थित एमाले कार्यालय २०७२ सालको महाभूकम्पमा भत्किएको थियो । त्यसपछि केही वर्ष धुम्बाराहीमा रहेको एमाले कार्यालय हाल ललितपुरको च्यासलस्थित लुलसीलाल अमात्य प्रतिष्ठानमा छ ।
हालको कार्यालयमा यही वर्ष मात्र पटकपटक बाढीको सामना गर्नुपरेकाले स्थायी रुपमा कार्यालय भवन निर्माण गर्न लागिएको सो पार्टीले जनाएको छ ।