काठमाण्डू, २४ असोज- सरकार नेतृत्वकर्ता एमालेले पार्टी केन्द्रीय कार्यालय काठमाण्डूको कीर्तिपुरमा बनाउने भएको छ ।
एमाले सचिवालयको बिहीबारको बैठकले कीर्तिपुर नगरपालिका-२ मा नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
ज्ञवालीका अनुसार कार्यालय भवनको शिलान्यास प्रधानमन्त्री केपी ओलीले शुक्रबार गर्नेछन् ।
बल्खुमा रहेको एमाले कार्यालय २०७२ सालको महाभूकम्पमा भत्किएको थियो । त्यसपछि केही वर्ष धुम्बाराहीमा रहेको एमाले कार्यालय हाल ललितपुरको च्यासलस्थित लुलसीलाल अमात्य प्रतिष्ठानमा छ ।
हालको कार्यालयमा यही वर्ष मात्र पटकपटक बाढीको सामना गर्नुपरेकाले स्थायी रुपमा कार्यालय भवन निर्माण गर्ने निर्णय भएको ज्ञवालीले उल्लेख गरे ।
पार्टी कार्यालयका लागि जग्गा व्यवस्थापन भइसकेको जानकारी उनले दिए ।