हनुमानढोका दरबारमा फूलपाती भित्र्याइयो

काठमाण्डु टुडे २०८१ असोज २४ गते १९:२६ मा प्रकाशित

काठमाण्डू, २४ असोज- दुर्गा पक्षअन्तर्गत बडा दशैंको सातौं दिन आज हिन्दू धर्मावलम्बीहरुको घरघरमा शुभसाइतको प्रतीक शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको छ ।

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार फूलपाती पर्व मनाइन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक पूजा गरी दुर्गालाई आह्वान गर्ने चलन छ ।

घरको पूजाकोठा तथा दशैं घरमा आज नौ प्रकारका बोटविरुवा र फलफूल राख्ने गरिन्छ ।

उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष पूजाकोठामा भित्र्याइन्छ । आजै हनुमानढोका दरबारको दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ।

हनुमानढोका दरबारको दसैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ ।

गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैंघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाण्डू जमलसम्म काठमाण्डूबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरू, गुर्जुका पल्टन, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहित फूलपाती ल्याउने गरिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले नवपत्रिकाको नामले चिनिने फूलपाती नौवटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको बताए ।

उनका अनुसार केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us