
काठमाण्डू, २४ असोज- अमेरिकाको सिएटलबाट टर्कीको इस्तानबुल उडेको टर्किस एयरलाइन्सको जहाजका क्याप्टेनको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार मंगलबार राति इस्तानबुलका लागि उडेको ए३५० एयरबसका क्याप्टेन ५९ वर्षीय इल्सिहिन पेहलिभानको मृत्यु भएपछि आकस्मिक अवतरण गरिएको छ ।
करिब ८ घण्टा जहाज उडानपछि उनी अचेत भएको न्यूयोर्क टाइम्सले जनाएको छ ।
जहाजमै उनलाई होशमा ल्याउने प्रयास गरिएको भए पनि उक्त प्रयास सफल भएन ।
उत्तरी क्यानडाको बाफिन आइल्यान्ड क्षेत्रमा उडान भइरहेका बेला क्याप्टेनको मृत्यु भएपछि को-पाइलटले अमेरिकाको जे.एफ.के विमानस्थलमा जहाज आकस्मिक अवतरण गराएको समाचारमा उल्लेख छ ।
एयरलाइन्सले क्याप्टेनको मृत्युको कारण स्पष्ट नगरे पनि उनको नियमित रूपमा स्वास्थ्य जाँच हुंदै आएको जनाएको छ ।
पछिल्लो परीक्षणका क्रममा स्वास्थ्यमा कुनै समस्या नदेखिएको दाबी एयरलाइन्स व्यवस्थापनको छ ।