श्याम ज्ञवालीपछि एसएसपी श्रेष्ठसहित २१ प्रहरी अधिकृतले फिर्ता लिए मुद्दा

काठमाण्डु टुडे २०८१ असोज ९ गते १६:३८ मा प्रकाशित

काठमाण्डु,९ असोज– ३० वर्षे सेवा अवधि कार्यान्वयनमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालत पुगेका प्रहरी अधिकृतहरूले धमाधम निवेदन फिर्ता लिन सुरु गरेका छन ।

आफ्नो पक्षमा फैसला हुने सम्भावना सकिएपछि उनीहरुले सर्वोच्चमा रहेको मुद्दा फिर्ताका लागि निवेदन दिन सुरु गरेका हुन ।

यसअघि श्याम ज्ञवालीले सर्वोच्चबाट आफ्नो निवेदन फिर्ता लिएका थिए । उनीपछि काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख समेत रहेका एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ जनाले आफ्नो निवेदन फिर्ताका लागि निवेदन दिएको स्रोतले जानकारी दिएका छन ।

उनीहरूको निवेदन बुधवार पेसी तोकिएको छ। न्यायाधीशद्धय प्रकाशमान सिंह राउत र तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको छ। आज अदालतले अनुमति दिएसँगै उनीहरूको रिट निवेदन औपचारिक रूपमा फिर्ता हुने पनि स्रोतले जानकारी दिएको छ ।

भदौ १६ गतेदेखि डीआइजी विष्णुकुमार केसीसहित ९० जना प्रहरी अधिकृत अवकाशमा जान लागेपछि श्रेष्ठसहितले भदौ ५ गते सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा भदौ ६ गते अन्तरिम आदेश भएको थियो ।

तर दोस्रो सुनुवाइका क्रममा भदौ १४ गते न्यायाधीशद्धय विनोद शर्मा र शारङ्गा सुवेदीको इजलासले अन्तरिम खारेज गरेको थियो ।

अन्तरिम खारेज भएसँगै उनीहरूको मुद्दाको औचित्य पनि सकिएको थियो । तीस वर्षे सेवा अवधिका कारण आफूहरू ४८ वर्षदेखि ५२ वर्षकै बीचमा अवकाशमा जान बाध्य भएको र अन्यायमा परेको भन्दै केही अधिकृतहरू अदालतमा पुगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us