काभ्रेमा विदेशी लुट्ने ३ जना पक्राउ

काठमाण्डु टुडे २०८१ असोज ९ गते १३:३७ मा प्रकाशित

काठमाण्डु,९ असोज– प्रहरीले काभ्रेको बनेपामा विदेशी महिला लुटपाट गर्ने ३ जनालाई पक्रउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासी घर भइ हाल काभ्रेको बनेपा नगरपालिका–६ सान फर्निचरमा काम गर्ने २० वर्षीय हरि चौधरी, रामेछाप सुनापाती गाउँपालिका घर भइ हाल बनेपा–९ बस्ने वर्ष १७ को सन्देश जैरु र काभ्रेको पनौती नगरपालिका–९ सुनथान बस्ने वर्ष १६ को उज्वल दाहाल रहेका छन् ।

काभ्रेको बनेपा नगरपालिका–६ गोसाइस्थानस्थित १६ सय सिढीमा घुम्न गएका २ जना विदेशी युवती ल्ट्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । धुलिखेल अस्पतालमा इन्टर्नसिपका लागि आएका २ विदेशी युवतीलाई मंगलबार साँझ ३ जना युवाले लुटपाट गरेका थिए ।

मंगलबार साँझ बनेपा नगरपालिका–६ भ्यु टावरमा इभिनिङ वाकमा निस्केको अवस्थामा इटालियन नागरिक २८ वर्षीया मार्टिन र जर्मनी नागरिक २६ वर्षीया एलेक्स जेन्ड्रा लुटिएका थिए । उनीहरुलाई चक्कु देखाउँदै लुटपाट गरेको प्रहरीले जानकारी दिएको छ ।

विदेशी युवतीलाई चक्कु देखाउँदै उनीहरुको साथमा रहेको आइफोन एकथान, स्मार्टवाच एकथान, डेबिड कार्ड एकथान, क्रेडिटकार्ड एकथान उनीहरुले लुटेको प्रहरीले जानकारी दिएको छ। लुटपाटपछि ती किशोर जंगलतिर भागेका थिए ।

लुटपाटमा संलग्न ३ जनालाई घटना भएको डेढ घण्टापछि प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट लुटेका सबै सामान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । लुटिएपछि विदेशी युवतीले ती किशोरको हुलियासहित प्रहरीलाई खबर गरेका थिए ।

१ जना युवकले कानमा मुन्द्रा लगाएको र २ जनाले साइडमा कपाल झारेको हुलियाको आधारमा खोजी गर्ने क्रममा उनीहरुलाई बनेपा नगरपालिका–७ उग्रचण्डी पेट्रोलपम्प पछाडिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले २ वटा चक्कु र अन्दाजी आधा पाउ जति गाँजासमेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us