हिरासतबाट फरार भएका ९ जना नै फेला परे

काठमाण्डु टुडे २०८१ असोज ८ गते १७:१२ मा प्रकाशित

काठमाण्डु, ८ असोज– प्रहरीको हिरासतबाटै भेन्टिलेसन तोडेर फरार ९ जनालाई अन्ततः प्रहरीले पक्राउ गरेको छ । विभिन्न मुद्दामा पक्राउ परेका थुनुवाहरू सोमबार बिहान ४ बजे धनुषा प्रहरीको हिरासत तोडेर फरार भएका थिए ।

फरार भएका थुनुवाहरूलाई धनुषा प्रहरीले करिब २८ घण्टामै पक्राउ गरेको हो । पहिलो दिन ७ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरेको प्रहरीले अन्य दुई जनालाई भने मंगलबार बिहान पक्राउ गरेको धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाले जानकारी दिएका छन ।

तीन जनालाई जनकपुरबाट, १ जनालाई नेपाल–भारतको सीमाबाट र ५ जनालाई लखौरीबाट पक्राउ गरिएको उनले जानकारी दिएका छन ।

पक्राउ गरिएका थुनुवामा अमित झा, सुमित मेस्तर, बिक्की कार्की, रोशन कुमार मण्डल, मनिष मण्डल, अभासकर यादव, रञ्जित मण्डल र विशाल मुखिया रहेको पनि उनले जानकारी दिएका छन ।

फरार थुनुवाको खोजीका लागि करिब ४ सयको हाराहारीमा प्रहरी परिचालन गरिएको थियो । थुनुवाहरू फरार हुने बित्तिकै धनुषा, सिरहा र महोत्तरी जिल्लामा पर्ने सबै नाकामा निगरानी गरिएको थियो ।

त्यसपछि भारतसँग समेत समन्वय गरेर खोजतलास गर्दै जाँदा ९ जनालाई नै पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us