काठमाण्डु, ८ असोज– कांग्रेसका नेता डा.शेखर कोइरालाले संसदमा कुनै एउटा दलको बहुमत आउने गरी निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने बताएका छन । आज मंगलबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन ।
उनले अहिलेको मिश्रित निर्वाचन प्रणालीबाट कसैको बहुमत नआउने भएकाले अस्थिरता कायम रहने पनि बताएका छन ।
उनले अहिले ३७५ सदस्यीय प्रतिनिधिसभामा ६० प्रतिशत सांसद प्रत्यक्ष निर्वाचित भएर आउँछन् भने ४० प्रतिशत समानुपातिक पद्धतिबाट निर्वाचित हुने हुँदा समानुपातिकबाट निर्वाचित हुने प्रतिशत घटाए पनि हुने उनले बताएका छन ।
उनले भने, ‘त्यो ४० प्रतिशतले कुनैपनि दलको बहुमत कहिल्यै पनि आउन सक्दैन । बहुमत आउने गरी बनाउनुपर्यो हामीले । समानुपातिकको प्रतिशत घटाए हुन्छ । कम प्रतिशत राख्ने ।’
उनले त्यसको सट्टा प्रत्यक्ष निर्वाचनमा नै महिला, दलित, आदिवासी जनजातिलाई आरक्षण दिन सकिने कोइरालाको भनाइ छ । ‘महिला, दलित, जनजातिहरुको सिट रिजर्भ गरिदिन सकिन्छ’, उनले भने,एमाले अध्यक्ष तथा प्रधानमन्त्री पनि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ भन्नेमा रहेको कोइरालाको भनाइ छ ।
उनले भने, ‘ओलीजीसँग मैले कुरा गर्दा निर्वाचन प्रणालीमा केही परिवर्तन गरेर अगाडि जानुपर्छ भन्नेमा हुनुहुन्छ । बहुमत कसरी ल्याउन सकिन्छ भन्नेमा हुनुहुन्छ । न्यायपालिकामा पनि छ जस्तो लाग्छ । धेरै इस्युहरुमा चलाउन थालियो भने हामीले केही गर्नै सक्दैनौँ भन्ने पनि छ ।’
त्यस्तै संविधान संशोधन गरेर न्यायपरिषद र संवैधानिक परिषदको संरसचना पनि परिवर्तन गर्न सकिने उनले बताए । संवैधानिक परिषदमा प्रधानन्यायाधीश राख्नु बेठीक भएको उनले बताए ।
‘प्रधानन्यायाधीश संवैधानिक परिषद्मा किन हुनुपर्दैन भने नि प्रधानन्यायाधीशले भाग खोज्ने सिस्टम आयो हाम्रो देशमा त्यसले न्यायपालिकामा प्रत्यक्ष असर गरिराखेको छ’, कोइरालाले भने ।