गर्मीका कारण धमाधम बन्द हुन थाले महोत्तरीका विद्यालय

काठमाण्डु टुडे २०८१ असोज ८ गते १४:३२ मा प्रकाशित

काठमाण्डु, ८ असोज– महोत्तरीमा गएको एक सातादेखि अचानक गर्मी बढेपछि जिल्लाका अधिकांश विद्यालय तथा क्याम्पस बन्द गरिएका छन् । बिहानैदेखि चर्को घाम र तातो हावा चल्न थालेपछि जिल्लाका चार स्थानीय तहहरुले आजदेखि चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन । अन्य स्थानीय तहले पनि बन्द गर्ने तयारी गरेका छन् ।

४० देखि ४४ डिग्रीसम्म तापक्रम पुगेपछि सदरमुकाम जलेश्वर नगरपालिकाले नगरक्षेत्रका सबै २९ वटा सामुदायिक एवं धार्मिक विद्यालयहरु आजदेखि लागू हुनेगरी चार दिनका लागि बिदा दिएको नगर प्रमुख सुरेश साह सोनारले जानकारी दिएका छन ।

मनरासिस्वा नगरपालिकाले पनि आउँदो शनिबारसम्मका लागि सबै २३ वटा सामुदायिक, धार्मिक तथा मदर्सामा बिदा दिएको नगरप्रमुख मोहन पाण्डेले जानकारी दिएका छन ।

महोत्तरी गाउँपालिकाले आजदेखि सबै सामुदायिक विद्यालयहरुमा शनिबारसम्मका लागि बिदा दिएको छ । बर्दिबास नगरपालिकाले गर्मीलाई दृष्टिगत गरी आजदेखि चार दिनका लागि नगरभित्रका विद्यालयहरुमा पठनपाठन बन्द गरेको नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीले जानकारी दिएका छन ।

जलेश्वरस्थित रामनन्दन विशेश्वर महेन्द्र क्याम्पसमा पनि बिदा दिइएको क्याम्पस प्रमुख अजयकुमार झाले जानकारी दिएका छन । गर्मीकै कारण सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा ज्वरो, रुघाखोकी, झाडापखाला र टाइफाइडजस्ता बिरामीहरुको चाप बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us