९० प्रतिशत समय पार्टीभित्रको लडाइँमा गएको छः महामन्त्री थापा

काठमाण्डु टुडे २०८१ असोज ७ गते १७:५६ मा प्रकाशित

काठमाण्डु, ७ असोज– पूर्व मन्त्री एवं कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसका नेता, कार्यकर्ताहरूको ९० प्रतिशत समय आन्तरिक लडाइँमा नै बित्ने गरेको दाबी गरेका छन ।

आज (सोमबार) वीरेन्द्रनगरमा आयोजित कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन । उनले भने, ‘हाम्रो ९० प्रतिशत समय पार्टीभित्रको लडाइँमा गएको छ, एउटा अर्कासँग जुधेको छ, अर्को अर्कासँग जुधेको छ ।’

यसरी समय खेर फाल्नु नहुने तर्क उनको छ । ८ लाख सदस्य भएको पार्टीको राजनीतिक सामाजिक सङ्गठन नै नभएको बताउँदै थापाले अब यसलाई सुधार गरेर लैजानुपर्ने पनि उनले बताएका छन ।

उनले सङ्घीयताको विषयमा उनले कागजमा सङ्घीयता लेखिए पनि व्यवहारमा अझै लागू हुन नसकेको पनि बताएका छन । उनले भने, ‘हामी ठिक तरिकाले हिँड्न सकेका छैनौँ, केन्द्रले पनि ससाना बाटो बनाइरहेको छ ।

त्यही बाटो प्रदेशले पनि बनाइरहेको छ,’उनले भने, ‘यो अवस्था सुधार गरेर लैजानुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us