छेडखानी तरिकाले संविधान संशोधन भए देश सम्हाल्न सकिँदैन: प्रचण्ड

काठमाण्डु टुडे २०८१ असोज ७ गते १७:३३ मा प्रकाशित

काठमाण्डु, ७ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छेडखानी तरिकाले संविधान संशोधन गर्न खोजिए देश सम्हाल्नै नसक्ने स्थितिमा पुग्ने दाबी गरेका छन ।

आज (सोमबार) राजधानीमा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले विचार नपुर्याई यस्ता गल्ती नगर्न कांग्रेस र एमालेका नेताहरुलाई समेत आग्रह गरेका छन ।

अध्यक्ष प्रचण्डले भने, ‘संविधान संशोधनको विषयमा अलिकति पनि छेडखानीबाट गयौँ भने पान्डोराको बक्स खोले जस्तै हुन्छ । देश सम्हाल्नै नसक्ने खतरा हुन सक्छ । हामी सबैले ध्यान दिनुपर्ने कुरा यो छ’, सचेत गराउँदै उनले भने, ‘जनताले पाएको अधिकार खोसियो भने त्यसले ठुलो अराजकता जन्माउँछ । नेपालमा समाल्न सक्ने हुन्छ भन्ने लाग्दैन ।

अराजकता फैलाउने गरी संविधान संशोधन नगर्दिनोस् भन्न चाहन्छु ।’उनले दोस्रो संविधानसभाबाट पनि संविधान सजिलै बन्न नदिन धेरै शक्तिहरूले चलखेल गरेको स्मरण गरे । त्यतिबेला शान्ति र संविधानको निम्ति प्रमुख भूमिका खेल्नेमध्ये आफू एक भएको उनले दाबी गरे ।

आफू जीवितै हुँदा संविधान नबन्ला कि भनेर धेरै चिन्तित भएको पनि बताए । यस्तै अहिलेको निर्वाचन प्रणालीले भ्रष्टाचारलाई संस्थागत गर्न मद्दत पुर्याउने भएकाले संशोधन गर्नुपर्ने पनि उनले बताएका छन ।

यसैगरी अहिलेको संविधानले बहुदलीय प्रतिस्पर्धालाई अङ्गीकार गरेकाले नेपालको सन्दर्भमा दुई दलीय प्रणाली ठिक नभएको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us