काठमाण्डु, ७ असोज– सहकारीको रकम अपचलनमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीमाथि तीन अभियोगमा अनुसन्धान हुने पक्का भएको छ ।
जोशीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान हुने जिल्ला सरकारी वकिल कार्यालय कास्कीका एक अधिकृतले जानकारी दिएका छन ।
उनले भने, ‘पक्राउ परेका जोशीलाई तीन अभियोगमै अनुसन्धान हुने र त्यही दाबीसहित जिल्ला अदालतमा म्याद थपका लागि पेस गरेका छौँ ।’ जिल्ला सरकारी वकिलको कार्यालयले १० दिनका लागि सुरुमा समय चाहिने दाबी गरेको छ ।
जिल्ला अदालतले उनीहरूको तर्क सुनेपछि म्यादबारे निर्णय लिने भएको छ । पहिलो पटक म्याद माग भएका कारण पाँच दिन दिने देखिन्छ । संगठित अपराधमा ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिन्छ ।
त्यस्तै सम्पत्ति शुद्धीकरणको अभियोग अहिले जिल्ला सरकारी वकिल कार्यालयबाटै जिल्ला अदालतमा दर्ता हुने भएकाले पनि यो अभियोग थपिएको हो ।
जोशीले गोर्खा मिडियाको सञ्चालकको रूपमा पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको अभियोगमा दर्ता भएको पूरक अभियोगपत्रमा अनुसन्धानका लागि आइतबार साँझ पक्राउ गरिएको थियो ।
जिल्ला अदालतले म्याद दिएपछि उनको बयान हुने छ । प्रहरीले जोशीको बयानका आधारमा थप व्यक्ति पक्राउ गर्ने तयारी गरेको छ ।