काठमाण्डु, ७ असोज– श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईका बारेमा निर्णय गर्न बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक मङ्गलवारसम्मका लागि स्थगित गरिएको छ ।
आज सोमबार सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकमा प्रस्तावित राजदूत भट्टराईका थप कागजपत्रहरू उपलब्ध हुन नसकेको र सांसदहरूको सङ्ख्या अपुग भएपछि मङ्गलवारसम्मका लागि स्थगित गरिएको स्रोतले जानकारी दिएको छ ।
प्रस्तावित राजदूत भट्टराईको स्नातक तहको सर्टिफिकेट नभएपछि उनको नाम समितिबाट अनुमोदन हुन बाँकी रहेको थियो । यसअघि समितिले विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम बहुमतले अनुमोदन गरेको थियो ।
भट्टराईको सर्टिफिकेट नभेटिएपछि निर्णय गर्नका लागि समितिमा अन्योलता सिर्जना भएको थियो ।