रविलाई पक्राउ गर्न माग गर्दै कास्की जिल्ला प्रशासन बाहिर सहकारी पीडितको नाराबाजी

काठमाण्डु टुडे २०८१ असोज ७ गते १२:४८ मा प्रकाशित

काठमाण्डु, ७ असोज– सूर्यदर्शन सहकारी पीडित बचतकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन । सहकारीको पैसा गोर्खा मिडिया मार्फत लामिछानेले दुरुपयोग गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय कास्की बाहिर उनीहरु प्रर्दशन गरेका हुन ।

जिल्ला प्रशासन कार्यालयको गेटनेर सहकारी पीडित र त्यसकै ठिकअगाडि शहीद चोकको चौतारामा रास्वपाका नेता कार्यकर्ताले प्रर्दशन जारी राखेका छन । पीडितले लामिछानेलाई पक्राउ गर्न माग गरिरहेका छन् भने रास्वपा नेता–कार्यकर्ताले लामिछानेलाई पक्राउ नगर्न समेत आग्रह गरेका छन ।

सूर्यदर्शन सहकारी पीडित र रविसमर्थक नेता–कार्यकर्ता आमने-सामने हुँदा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जानकारी दिएका छन् । जिल्ला प्रशासन तथा शहीद चोक आसपासमा सुरक्षाकर्मी खटाइएको छ ।

विभिन्न सहकारीमा भएको अपचलनबारे छानबिन गर्न बनेको विशेष संसदीय समितिको सिफारिस र गृहमन्त्री रमेश लेखकको निर्देशनपछि आइतबार गोर्खा मिडिया प्रालिका सेयर सदस्य तथा सञ्चालक पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ परेर पोखरा ल्याइएको छ ।

जोशीलाई म्याद थपका लागि आजै जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ । जोशीलाई अदालत उपस्थित गराउने जानकारीसँगै सहकारी पीडित अदालत गेट बाहिर भेला भएर नाराबाजी सहित प्रदर्शन गरेका हुन् भने रविलाई पनि पक्राउ गर्न पुर्जी जारी हुन लागेको भन्दै रास्वपा नेता कार्यकर्ता शहीद चोकको चौतारामा भेला भएर प्रदर्शन गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us