आरजुको मन राख्न न्यूयोर्कमा ओलीसँग भेट्न तयार भएका थिए मोदी

काठमाण्डु टुडे २०८१ असोज ७ गते ८:३२ मा प्रकाशित

काठमाण्डु, ७ असोज– संयुक्त राष्ट्रसंघको ७९औं महासभाका दौरान प्रधानमन्त्री केपी ओलीले नेपाली समयअनुसार सोमबार बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग साइडलाइन वार्ता गरे ।

तर, उक्त भेट सानो दुःखले भने भएको होइन । नेपाली पक्षको लामो प्रयास र आग्रहपछि बल्लतल्ल मोदी ओली भेट्न जारी भएका थिए ।

संयुक्त राष्ट्रसंघका लागि न्यूयोर्कस्थित स्थायी प्रतिनिधि लोकबहादुर थापाले राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि पार्वथनेनी हरिशसँग गत साता न्यूयोर्कमा भेटेर ओली–मोदी भेटको चाँजो मिलाइदिन आग्रह गरेका थिए । उक्त कुरा परराष्ट्र मन्त्रालयले यसअघि नै विज्ञप्तिमार्फत स्वीकार गरिसकेको छ ।

यद्यपि हरिसले स्पष्ट जवाफ दिएनन् । प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री आरजु राणा र परराष्ट्र मन्त्रालयका अधिकारीहरुले अनौपचारिक च्यानलमार्फत मोदीसँग साइडलाइन भेट गराइदिन भारतीय पक्षलाई धेरैपटक आग्रह गरेका थिए ।

तर, ओली शुक्रबार बिहान ज्यूयोर्क पुग्दासम्म भेटको टुंगो थिएन । जब परराष्ट्रमन्त्री राणा क्यानडाको टोरण्टोमा आयोजित विश्वकमा परराष्ट्रमन्त्रीहरुको भेलामा सहभागी भएर शनिबार न्यूयोर्क पुगिन्, तब मात्र मोदीसँग भेटको वातावरण बनेको हो । परराष्ट्र उच्च श्रोतका अनुसार मन्त्री राणाले भारतीय विदेशमन्त्री एस जयशंकरमार्फमा ओली–मोदी भेटका लागि निर्णायक पहल गरेकी थिइन् ।

यदि ओली–मोदीबीच भेट नभए नेपालमा त्यसको गलत सन्देश जाने भन्दै आरजुले जयशंकरलाई धेरै नै आग्रह गरेकी थिइन् । आरजुको पटकपटकको आग्रहबारे जयशंकरले मोदीलाई जानकारी गराएपछि उनी ओली भेट्न राजी भए । ओलीले पछिल्लोपटक प्रधानमन्त्री भएलगत्तै भारत भ्रमण गर्न चाहेका थिए । तर, मोदीले ओलीलाई नभई आरजुलाई भ्रमणमा बोलाएर एक प्रकारको सन्देश प्रवाह गरेका थिए । ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो विदेश भ्रमण भारतबाट गर्न चाहन्थे ।
तर, भारतले ग्रिन सिग्नल नदिएछि सम्भव भएन । गत साउन अन्तिममा प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीको मोदीसँगको यो पहिलो भेट हो । यसअघि थाइल्यान्डमा हुने तय भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) बैठकमा ओलीले मोदीसँग भेटेन चाहेका थिए । तर, अन्तिम समयमा आएर उक्त बैठक नै स्थगित भयो ।

विगतदेखि नै ओलीले दिने भारतविरोधी अभिव्यक्तिका कारण ओली–मोदी सम्बन्ध राम्रो छैन । पछिल्लोपटक गत साता सोमबार प्रतिनिधिसभामा बोल्दै ओलीले भारतलाई लक्षित गर्दै नेपाल छुद्र र जाली छिमेकी होइन, असल छिमेकी र छिमेकीको हित चिताउने छिमेकीको पक्षमा रहेको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us